नियम १५५
प्रशिक्षक प्रशिक्षण तालीम
: (१) प्रहरी कर्मचारीहरूको तालीम, प्रशिक्षण क्षमता, शैक्षिक योग्यता, शारीरिक तन्दुरुस्ती, अनुशासन, आचरण एवं नैतिकता र सम्बन्धित प्रहरी कर्मचारीको इच्छा तथा तत्परता समेतलाई ध्यानमा राखी प्रशिक्षक हुन योग्य प्रहरी कर्मचारीहरूको अभिलेख खडा गरी त्यस्ता प्रहरी कर्मचारीहरूलाई प्रशिक्षक प्रशिक्षण तालीम प्रदान गरिनेछ । तर यो नियमको व्यवस्था लागू हुनुअघि प्रशिक्षक प्रशिक्षण तालीम प्राप्त गरी प्रशिक्षक रुपमा प्रशिक्षण दिई रहेका प्रहरी कर्मचारीलाई पुन प्रशिक्षक प्रशिक्षण तालीम दिन आवश्यक हुने छैन ।
(२) प्रशिक्षक प्रशिक्षण तालीममा सफल प्रहरी कर्मचारीलाई प्रशिक्षक प्रमाणपत्र प्रदान गरी प्रहरी प्रशिक्षकको मान्यता प्रदान गरिनेछ र त्यस्तो मान्यताप्राप्त प्रहरी कर्मचारीहरूको एउटा छुट्टै प्रशिक्षक सूची (ट्रेनर्स पूल) खडा गरी राखिनेछ ।
(३) प्रशिक्षक सूचीमा नामावली समावेश गरिएका प्रहरी कर्मचारीहरूलाई प्राथमिकता दिई प्रशिक्षण संस्था तथा तालीम केन्द्रमा प्रशिक्षकको रूपमा खटाइने छ ।
(४) खुल्ला प्रतियोगिताद्वारा नियुक्ति पाई आफ्नो दर्जा अनुसारको प्रहरी आधारभूत तालीम समाप्त गरेलगत्तै प्रहरी प्रशिक्षण प्रतिष्ठान तथा प्रहरी प्रशिक्षण केन्द्रमा सरुवा वा पदस्थापन भएको वा प्रहरी प्रशिक्षण प्रतिष्ठान तथा प्रहरी प्रशिक्षण केन्दमा प्रशिक्षकको रूपमा कार्यरत कुनै प्रहरी कर्मचारीले प्रहरी प्रशिक्षक प्रशिक्षण तालीम नलिएको भए निजलाई छ महिनाभित्र अनिवार्यरूपमा त्यस्तो तालीम दिइनेछ ।
(५) प्रहरी प्रशिक्षण प्रतिष्ठान र प्रहरी तालीम केन्द्रमा प्रहरी कर्मचारीको सरुवा वा पदस्थापन वा काज खटाउँदा वा त्यस्तो एकाइहरूबाट अन्यत्र खटाउँदा तालीम निर्देशनालयको सिफारिसमा गरिनेछ । तालीम निर्देशनालयले त्यस्तो सिफारिस गर्दा सम्भव भएसम्म प्रशिक्षक समूह (ट्रेनर्स पूल) मा अभिलेख भएका प्रहरी कर्मचारीलाई मात्र सिफारिस गर्नु पर्नेछ ।
(६) प्रहरी प्रशिक्षण प्रतिष्ठान र प्रहरी प्रशिक्षण केन्द्रमा प्रशिक्षकको रूपमा कार्यरत प्रहरी कर्मचारीलाई अन्यत्र सरुवा वा पदस्थापन गर्दा वा काजमा खटाउँदा तालीम निर्देशनालयसँग समन्वय गरी तालीम कार्यक्रम तथा क्यालेण्डरमा असर नपुग्ने गरी गर्नु पर्नेछ ।
(७) स्वदेश तथा विदेश तालीममा पठाउँदा प्रहरी प्रशिक्षण प्रतिष्ठान वा प्रहरी तालीम केन्द्रमा वा प्रशिक्षकको रूपमा कार्यरत प्रहरी कर्मचारीलाई प्राथमिकता दिइनेछ ।